परिचय (Introduction of Chest Congestion)
सामान्यतया छातीमा केही असहज हुनेबित्तिकै मानिसहरू यसलाई मुटुको रोगसँग जोडेर डराउने गर्छन्। तर, सधैं यस्तो हुँदैन। छाती
भारी हुनु वा असजिलो हुनु भनेको श्वासप्रश्वास नलीमा कफ (Mucus) जम्मा हुनु हो। जब हाम्रो शरीरले संक्रमणसँग लड्न धेरै बलगम
उत्पादन गर्छ, तब छातीमा गह्रौँ महसुस हुन्छ। यो समस्या रुघाखोकी, इन्फ्लुएन्जा वा अन्य श्वासप्रश्वास सम्बन्धी संक्रमणका
कारण हुन सक्छ।
लक्षण (Symptoms of Chest Congestion)
छाती भारी हुँदा निम्न लक्षणहरू देखिन सक्छन्:
- परिचय (Introduction of Chest Congestion)
- लक्षण (Symptoms of Chest Congestion)
- कारण (Causes of Chest Congestion)
- घरेलु उपचार (Home Remedies for Chest Congestion)
- थप अन्य उपाय (Extra Solution for Chest Congestion)
- खानपान तरिका (Dietary Guidelines for Chest Congestion)
- गर्न नहुने कार्यहरु (Things to Avoid in Chest Congestion)
- साबधानी (Precautions in Chest Congestion)
- निष्कर्ष (Conclusion)
छातीमा भारीपन वा कसिलो महसुस हुनु।
खोकी लाग्नु (कहिलेकाहीँ खकारसहितको खोकी)।
सास फेर्न गाह्रो हुनु वा छोटो सास फेर्नु।
घ्वारघ्वार आवाज आउनु (Wheezing)।
घाँटी खसखस हुनु वा दुख्नु।
थकान र कमजोरी महसुस हुनु।
नाक बन्द हुनु वा सिँगान बग्नु।
कारण (Causes of Chest Congestion)
छाती भारी हुनुका मुख्य कारणहरू यस प्रकार छन्:
रुघाखोकी र भाइरल संक्रमण: यो सबैभन्दा सामान्य कारण हो।
दम (Asthma): श्वास नली सुन्निने (इन्फ्ल्यामेसन) कारणले गर्दा।
ब्रोन्काइटिस: श्वास फेर्ने नलीमा संक्रमण भएर कफ जम्नु।
निमोनिया: फोक्सोमा संक्रमण भएर तरल पदार्थ वा पीप भरिनु।
एलर्जी: धुलो, धुवाँ वा परागकणका कारण हुने प्रतिक्रिया।
एसिड रिफ्लक्स: पेटको अम्ल घाँटीसम्म आउँदा पनि छातीमा असहज हुन सक्छ।
तनाव र चिन्ता: धेरै मानसिक तनावले गर्दा पनि छाती कसिलो भएको महसुस हुन सक्छ।
घरेलु उपचार (Home Remedies for Chest Congestion)
छाती भारी हुने समस्या कम गर्न निम्न घरेलु उपायहरू अत्यन्तै प्रभावकारी मानिन्छन्:
न्यानो पानी र कुल्ला: दिनभरि मनतातो पानी पिउनाले कफलाई पातलो बनाउन मद्दत गर्छ। साथै, नुन पानीले कुल्ला गर्दा घाँटी र
श्वास नलीको अवरोध कम हुन्छ।
बाफ लिने (Steam Inhalation): तातो पानीको बाफ लिँदा जमेको कफ पग्लिएर बाहिर निस्कन सजिलो हुन्छ। पानीमा थोरै पुदिनाको तेल
वा सन्चो हाल्दा अझ बढी फाइदा हुन्छ।
अदुवा र मह: अदुवामा इन्फ्ल्यामेसन कम गर्ने गुण हुन्छ। अदुवाको रसमा मह मिसाएर खाँदा खोकी र छातीको जकडनमा तुरुन्तै आराम
मिल्छ।
बेसार दूध: एक गिलास तातो दूधमा आधा चम्चा बेसार र थोरै मरिच हालेर पिउनाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र
संक्रमण निको हुन्छ।
तुलसीको पात: तुलसीको पातको काँढा वा चिया पिउनाले फोक्सो सफा राख्न मद्दत गर्छ।
थप अन्य उपाय (Extra Solution for Chest Congestion)
मरिचको काँढा: १५-२० वटा मरिचलाई पानीमा उमालेर आधा पारी मह मिसाएर पिउनुहोस्। यसले कफ बाहिर निकाल्न मद्दत गर्छ।
प्याजको रस: प्याजमा ब्याक्टेरियासँग लड्ने गुण हुन्छ। प्याजको रस र मह बराबर मिसाएर सेवन गर्दा फाइदा हुन्छ।
सुत्ने तरिका: सुत्दा शिर अलि उच्चो पारेर (दुईवटा सिरानी राखेर) सुत्नाले सास फेर्न सहज हुन्छ र कफ जम्मा हुन पाउँदैन।
खानपान तरिका (Dietary Guidelines for Chest Congestion)
भिटामिन सी: सुन्तला, कागती र अमला जस्ता भिटामिन सी युक्त फलफूलको सेवन गर्नुहोस्।
झोलिलो पदार्थ: तातो सुप, दालको रस र प्रशस्त पानी पिउनुहोस्।
ताजा खाना: सधैं ताजा र तातो खाना खानुहोस्। यसले शरीरलाई ऊर्जा दिन्छ र संक्रमणसँग लड्न मद्दत गर्छ।
प्रोटीन: शरीरको टुटफुट मर्मत गर्न दाल, गेडागुडी र अण्डा खानुहोस्।
गर्न नहुने कार्यहरु (Things to Avoid in Chest Congestion)
चिसो खानेकुरा: आइसक्रिम, चिसो पेय पदार्थ र फ्रिजमा राखिएको खानेकुरा पूर्णतया बन्द गर्नुहोस्।
धुम्रपान: चुरोटको धुवाँले फोक्सोलाई थप क्षति पुर्याउँछ र जकडन बढाउँछ।
बासी खाना: बासी र धेरै मसलेदार वा तेलमा तारेको खानेकुरा नखानुहोस्, यसले अपच र एसिडिटी बढाउन सक्छ।
प्रदुषण: धुलो र धुवाँबाट टाढै रहनुहोस्।
साबधानी (Precautions in Chest Congestion)
मौसम परिवर्तनको समयमा शरीरलाई न्यानो राख्नुहोस्।
बाहिर निस्कँदा मास्कको प्रयोग गर्नुहोस्।
हातहरू समय–समयमा साबुन पानीले धुने गर्नुहोस् ताकि संक्रमण नफैलियोस्।
यदि छाती दुख्ने समस्या बढ्दै गयो वा ज्वरो १०० डिग्री फरेनहाइट भन्दा माथि आयो भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुहोस्।
निष्कर्ष (Conclusion)
छाती भारी हुने समस्या धेरैजसो अवस्थामा सामान्य खानपान र घरेलु उपचारबाटै निको हुन्छ। प्राकृतिक जडीबुटी र
न्यानो खानपानले यसलाई प्रभावकारी रूपमा निको पार्न सकिन्छ। यद्यपि, यदि सास फेर्न धेरै गाह्रो हुने, खकारमा रगत देखिने वा
धेरै दिनसम्म समस्या निको नहुने भएमा यसलाई बेवास्ता नगरी अस्पताल जानु उचित हुन्छ।










